दुई कदमः निर्माणमा आमा, अभिनयमा इओनको डेब्यु

काठमाडौं । इओन लिम्बु हङकङमा जन्मिए । तीन वर्षपछि बाबुआमासँगै नेपाल आए र यही हुर्किए । स्कुलमा हुने नाटकमा प्रायः नछुटाई अभिनय गरे । यिनै इओनले स्कुलदेखिको अभिनयको भोकलाई अहिले आएर उनले फिल्म ‘दुई कदम’मा नायकका रुपमा मेटाएका छन् । यो फिल्म आगामी मंसिर २९ गते रिलिज हुँदैछ ।

‘मलाई सानै उमेरदेखि नै अभिनय गर्ने मन थियो । स्कुलमा नाटकहरुमा अभिनय गर्थें । एसइई दिएपछि शिल्पी थिएटरमा युवराज घिमिरेबाट तीन महिने अभिनयको कोर्ष लिएँ’, हालैको भेटमा इओन भन्दै थिए,‘प्लस टु मेनेजमेन्टमा सकेपछि मैले ओस्कार इन्टरनेसनल कलेज पढें । अभिनयको बारेमा धेरै कुरा त्यहाँ सिक्ने मौका पाएँ ।’

इओनले फिल्ममा आउने चाहना होम प्रोडक्सनबाटै पुरा गरे । उनकी आमा तारादेवी लिम्बुले फिल्म ‘दुई कदम’ निर्माण गर्ने निर्णय लिएपछि निर्देशक उदय सुब्बाकै सल्लाहमा इओन फिल्ममा आएका हुन् ।

उनले यो फिल्म अघि केही सर्ट फिल्ममा काम गरेका थिए । त्यसकारण पनि ठूलो पर्दाको फिल्ममा उनलाई क्यामरा फेस गर्न गाह्रो भएन । ‘मैले वर्कसपदेखि नै मेहनत गरेको थिएँ । केही दृश्यमा काम गर्न गाह्रो भयो । तर प्रायः चाहिँ त्यति गाह्रो भएन’, इओन भन्छन् ।

इओन हरेक कुरा तयारी गरेर मात्र गर्छन् । त्यसकारण पनि फिल्ममा आफूले सुधार्नुपर्ने केही छ जस्तो उनलाई लाग्दैन । उनलाई अभिनेतमा सौगात मल्ल मनपर्छ ।

फिल्म ‘दुई कदम’मा इओनले आकाश नामक पात्रको भूमिका निर्वाह गरेका छन् । ‘आकाशको चरित्र मेरो वास्तविक जीवनसँग मिल्दोजुल्दो छ । आकाश क्यारेक्टर ब्याचलर सकेर बसेको केटा हो, जो बाबुआमाकै पैसामा डुलेर हिँड्छ । लाइफमा त्यस्तो ठूलो केही सपना छैन । साथीसँग बाइकमा डुल्न जाँदा वसन्तपुरमा अर्को क्यारेक्टरसँग भेट भएपछि कथा अगाडि बढ्छ’ उनी भन्छन् ।

फिल्ममा गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङलगायतको अभिनय छ ।