कान्तिपुर सिनेमाजमा आयो मिस स्कार्लेट

काठमाडौं । गत असोज २९ गते घोषणा गरेर सुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ‘ज्याकीः आइएम ट्वान्टी वान’, ‘जुलेवी’, ‘म’, ‘चि मुसी ची’, ‘खरानी’, ‘मदर’, ‘ऋतु’, ‘नेपाली फिक्सन’ र ‘लभ सुत्र’ प्रदर्शन भइरहेका छन् ।

कान्तिपुर सिनेमाजले आफ्नो निर्माण रहेको ओरिजीनल साइकोलोजिकल फेन्टासी सिरिज ‘मिस स्कार्लेट’को स्ट्रिमीङ्ग सुरु गरेको छ ।
गत वर्षको माघबाट वीरगन्जदेखी छायांकन सुरुवात गरेको ‘मिस स्कार्लेट’को वीरगन्ज र काठमाण्डौमा २७ दिन लगाएर छायांकन गरिएको थियो । पहिलो सिजनमा ४ एपिसोड हुने बताइएको ‘मिस स्कार्लेट’को एउटा एपिसोड ३५ देखी ४० मिनेटको हुनेछ ।

सिरिजलाई बलिराम चौहानले निर्देशन गरेका हुन भने यसका क्रियटिभ प्रोड्युशर प्रकाश पुरी हुन् । टलकजंग भर्सेस टुल्के फेम्ड सिनेमाटोग्राफर शेरबहादुर तामाङले खिचेको सिरिजमा म्युजिकल ग्रुप नोवेल फ्रिक्सले म्युजिक दिएका छन् ।

सिरिजमा कुलश्रेष्ठ कमल, गित बिष्ट, आलीशा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, अर्नव घिमिरे, दिलीप नेपाली, रोज खत्री लगायतको अभिनय रहेको छ ।

यो सिरिजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ तिरेर हेर्न पाउनेछन् । नेपाली रुपैयाँ २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछि दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरिजहरू एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिइओ तथा मिस स्कार्लेटका कृयटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए ।