काठमाडौँ । केही समयसम्म फिल्मबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःफिल्म ‘उपहार’मार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् ।
‘म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ फिल्म कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन्’, अभिनेत्री थापाले भनिन् ।
उनले आफू चिनिएको फिल्मकर्मबाट आउँदा दिनमा पनि लामो समय नटाढिने बताइन् । फिल्म ‘उपहार’मा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्ममा निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन छ । उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै फिल्ममा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म फागुन २५ गते प्रदर्शन तय भएको छ । फिल्म वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।