चित्राबाट आशावादी सन्तोष

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित ‘आमा’, अर्पण थापा निर्देशित ‘घर’ तथा ’तीन जन्तु’ मा सह–निर्माता बनेका पोखराका युवा सन्तोष अधिकारी फिल्म ‘चित्रा’मार्फत अभिनयमा पाइला चाल्दैछन् ।

पोखरामा जन्मिएर अष्ट्रेलियामा कर्म गरिरहेका सन्तोष थुप्रै इभेन्टका आयोजक हुन् । उनले नेपालसँगै अष्ट्रेलियामा थुप्रै फेसन शोसहितका इभेन्टहरु गरिसकेका छन् । उनले एएसएपी नाम कम्पनी दर्ता गरेर काम गरिरहेका छन् ।

उनी अभिनित तथा घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पौष २७ गते रिलिज हुँदैछ । उनी फिल्मबाट आशावादी छन् । ‘मैले घर, आमा, तीन जन्तु लगायत फिल्म बनाएको छु । म पेशा अनुरुप अस्याप इन्टरटेन्मेन्टबाट निर्माता भएको हुँ । अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु’, उनी भन्छन् ।

विदेशबाट फर्किएपछि सन्तोषले अस्याप इन्टरटेन्मेन्ट दर्ता गरे । कम्पनी दर्ता गरेपछि केही इभेन्टहरुसँगै केही म्युजिक भिडियो गरे । उनले जति पनि म्युजिक भिडियोहरु गरे ती उनका लागि अभिनयका कक्षाहरु थिए ।

उनी अष्ट्रेलियाको सिड्नी थिएटर स्कुलका विद्यार्थी हुन् । उनले त्यही नै आफ्नो अभिनयको कखरा सिके, त्यहाँको अन्तर्राष्ट्रिय सिकाइले उनलाई ‘चित्रा’ गर्ने आत्मविश्वासको जग हालिदियो ।

‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गर्छ । सामाजिक कथामा एक्सन र ड्रामालाई प्रस्तुत गरिएको छ । फिल्मले हरेक घरको कथा भन्ने सन्तोष बताउँछन् ।

’चित्रा’मा सन्तोषसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यस फिल्ममा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् ।

महेश पौडेलले छायाङ्कन गरेको फिल्ममा सम्पादन बनिश शाह र सन्देश शाहले गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।