३४ दिनमा सकियो अन्जिला

काठमाडौँ। नेपाली फिल्म ‘अन्जिला’को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको यो फिल्ममा मिलन चाम्सको निर्देशन छ । एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायाङ्कन सुरु भएको थियो । इलाम, झापा र काठमाडौँमा यस फिल्मको छायाङ्कन भएको छ ।

यो फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तान लगायतको पनि अभिनय छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठको पनि फिल्ममा प्रमुख भूमिका रहेको छ ।

झन्डै दुई वर्ष अघि घोषणा गरी अहिले छायाङ्कन भएको यो फिल्मकी कथा पात्र एन्जिला तुम्बापोको खेल जीवनको व्यस्त तालिकाका कारण निकै ढिलो छायाङ्कन गरिएको हो । निर्देशक चाम्सले उपयुक्त मिति हेरी रिलिज गरिने बताए ।
शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् । छायाङ्कन सकिएपछि एन्जिलालाई लिगमा विजयीको शुभकामना सहित म्याजिक फूटवेयर र फिल्मका सह(निर्माता विनोद अग्रवालले स्कूटर उपहार प्रदान गरेका छन् । म्याजिक फूटवेयर यस फिल्मका अर्का सह–निर्माता राजेश बगडियाको हो ।

म्याजिक फूटवेयरले एन्जिलाको नाम अङ्कित गरी जुत्ता बनाएको छ । यसरी नेपाली खेलाडीको नाम अङ्कित गरी पहिलो पटक टी–शर्ट र जुत्ता (म्याजिक) बनेका हुन् । एन्जिला क्लोथिङ ब्रान्ड ली–निङको नेपालको पहिलो र विश्वको पाँचौँ ब्रान्ड एम्बासडर हुन् । साथै, उनी गोर्खा वाच र हन्ड्रेड स्पोर्टसको पनि पहिलो ब्रान्ड एम्बासडर हुन् ।

निर्देशक चाम्सले उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए । निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा चलचित्रमा देखिने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा(दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

सुदीप बरालको डिओपी रहेको फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह(निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।