शरणार्थीको कथामा भूठान

काठमाडौं । सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय फिल्म पुरस्कार पाएका विनोद पौडेलले नयाँ फिल्मको पोष्टर र नाम सार्वजनिक गरेका छन् ।

नेपालीमा भूठान र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यको अभिनय छ । फिल्ममा उनीबाहेक दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र कौशिला खनाल कर्माचार्य अनुवन्धित भएका छन् ।

यो फिल्ममा हलिउडका एक नामुद कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरुको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने निर्मातामध्येका एक राजेन्द्र ठकुराठीले बताए । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् ।

उनले अस्कर एकेडेमी अवार्डमा छानिएको डिस्ने पिक्सरको फिल्म ‘अनवार्ड’, ट्वान्टीथ सेन्चुरी फक्स बक्सअफिस ‘स्मास हिट बार्बारियन एण्ड लायन्सगेट्स फेन फेभरेट डीटेक्टिभ नाइट सिरिज’लगायत ५० भन्दा बढी हलिउडका फिल्ममा सहकार्य गरिसकेका छन् ।
भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस फिल्म भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।

निर्माता अविरल थापाले यो फिल्म विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय फिल्मको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए । कार्यकारी निर्माता एलएन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरिका सम्पूर्ण प्लेटफर्महरुमा र फिल्म हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यस फिल्मलाई प्रदर्शन गरिने बताए । फिल्मकी कार्यकारी निर्माता कौशिला खनालले भुटानी शरणार्थीहरुको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढंगबाट लेखक एवं निर्देशक पौडेलले काम गरिरहेको देखेर यसमा जोडिएको बताइन् ।

यस फिल्ममा सन् २०१७ मा अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताकोे रुपमा जोडिएका छन् । यस फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताभ जोशी र फिल्म बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह निर्माण रहनेछ । फिल्मको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस फिल्म नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । फिल्मको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्नेछ ।

फिल्ममा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन् ।

यस फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।