निर्माता र प्रदर्शकलाई बराबर शेयर

काठमाडौँ । फिल्म भवनमा नेपाली फिल्म प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७ गते निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घबीच शेयरको विषयमा सहमति भएको थियो ।

निर्माताले वर्षांैदेखि उठाइरहेका शेयर बाँडफाँटको मुद्दा नौलो होइन । चलचित्र निर्माता र चलचित्र सङ्घबीच थुप्रैपटक यस विषयमा विवाद भइसकेको थियो । विसं २०६० मा ४२ दिनको आन्दोलनपछि १९ बुँदे सहमति, विसं २०७५ मा निर्माताद्वारा पुनःआन्दोलन गर्ने घोषणापश्चात् भएको १७ बुँदे सम्झौता कार्यान्वयन भएको थिएन । प्रदर्शकले फिल्म प्रदर्शनको समयमा समस्या दिने भन्दै एकाधबाहेक निर्माताले आवाज उठान सकेका थिएनन् ।

कोरोना महामारीले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन विसं २०७८ असोजमा पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत विभाजनको निर्णय भएको थियो । सो समयमा निर्माताले केही वर्षयताको धेरै शेयर पाएका थिए । त्यसपछि विसं २०७९ बाट शेयर बाँडफाँटसम्बन्धी नयाँ नियम लागू गर्दै पहिलो र दोस्रो साता निर्माता र प्रदर्शकले ५०÷५० प्रतिशत र तेस्रो सातादेखि निर्मातालाई ३५ प्रतिशत सेयर पाउने व्यवस्था भयो ।

गएको तिहारको अवसर पारेर गत कात्तिक २४ गतेदेखि प्रदर्शन गरिएको नेपाली फिल्म ‘दिमाग खराब’को निर्माण समूहले विदेशी फिल्मसरह सो सङ्ख्या र प्रदर्शनअन्तर्गत भएको कूल व्यापारको ५० प्रतिशत शेयर नपाए प्रदर्शन रोक्ने घोषणा गरेपछि यस विषयमा बहस सुरू भएको थियो ।

‘लूट’ फिल्ममार्फत कथ्य शैली र पात्रको भाष्य शैलीलाई बदल्न सफल निर्देशक निश्चल बस्नेतले गरेको आँटलाई सामाजिक सञ्जालमार्फत अधिकांश फिल्मकर्मीले सहमति दिएका थिए । फिल्म भवनमा विदेशी फिल्म कम रहेको र नेपाली फिल्ममा दर्शक बढिरहेका सन्दर्भमा उचित माग सम्बोधन नगरिए ओभर दी टप (ओटिटी) वा अन्य विकल्पिक माध्यमबाट फिल्म प्रदर्शन गरिने घोषणा निर्देशक बस्नेतले गरेका थिए ।

सोही मौका छोपेर निर्माता सङ्घले माग सम्बोधन नगरिए स्वदेशी मात्र नभई विदेशी फिल्मको प्रदर्शन रोकेर आन्दोलन गर्ने चेतावनी दिएको थियो । त्यसपछि दुई सङ्घबीच भएको वार्तामार्फत देखिएका समस्याको समाधान गर्न सकारात्मक छलफल भयो ।

‘एउटा चलचित्र नभई समग्रमा देखिएका समस्याको विषयमा संवाद गरेका हौँ । यो सहमतिले निर्मातालाई ऊर्जा दिएको छ । यो दुवै पक्षको जीत हो’, निर्माता सङ्घका अध्यक्ष खड्काले भने । साथै, उनले निर्माता र प्रदर्शकलाई बराबर शेयर दिनेसहित छ बुँदामा सहमति भएको जानकारी दिए ।

फिल्म निर्माण गरेर फिल्म भवनमा प्रचारप्रसार सामग्री श्रव्यदृश्य (ट्रेलर, टिजर), पोस्टर राख्नेलगायत विभिन्न विषयवस्तुमा निर्माताले शुल्क तिर्दै आइरहेका थिए । यद्यपि विदेशी फिल्म खरिद गरेर ल्याइने भएकाले फिल्म भवनकै दायित्व रहँदै आएको छ । नेपालीको हकमा पनि सहमति गर्ने प्रयास अझै छ ।

सम्पूर्ण जोखिम आफूले उठाएपछि भएको व्यापारको आधाभन्दा बढी हिस्सा प्रदर्शकलाई दिने कुरामा निर्माता सहमत थिएनन् । निर्माता सङ्घका सदस्य रवीन्द्रसिंह बानियाँले नयाँ सहमतिले सम्पूर्ण नेपाली फिल्मलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘वार्तामा भएका सहमतिले प्रदर्शक र निर्माताको दूरी घटाएर नजिक ल्याउनेछ । दुवैलाई आफ्नोपन महसुस हुनेछ ।’

निर्मातालाई फिल्म निर्माणसँगै प्रदर्शनको चिन्ता धेरै हुने निर्देशक तथा निर्माता पुर्नेन्दु झाले बताए । फिल्म सम्बन्धी अध्ययन गरेर ‘संरक्षण’ नामक फिल्ममार्फत निर्देशनसँगै निर्माता बनेका झालाई फिल्म प्रदर्शन गर्न चार वर्ष लाग्यो । उनले फिल्म बनाउनुमात्र नभई प्रदर्शनको शिक्षा पनि लिनुपर्ने महसुस गरे ।

‘यहाँ स्वदेशी फिल्मले आफूलाई प्रमाणित गरेर शो पाउने अवस्था थियो । दर्शक आउन थालेपछि तेस्रो साताबाट निर्माण पक्षले कम शेयर पाउने गरेका थिएँ । यसकारण फिल्मको कुल व्यापार बढी भए पनि निर्माताले कम शेयर पाउने गरेका थिए’, निर्देशक झाले भने । पछिल्लो सम्झौतालाई निरन्तरता दिएमा निर्मातालाई नयाँ ऊर्जा प्राप्त हुने विश्वास उनको छ । नयाँ फिल्मको तयारीमा जुटेका पनि काम अगाडि बढाउन रोकिएका निर्देशक झाले चाँडै छायाङ्कन थाल्ने गरी काम सुरु गरेको बताए ।

यो समस्यालाई नजिकबाट बुझेका निर्माता तथा प्रदर्शक दीपकराज गिरीले यहाँ नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको आइएनआई सिनेमाजको शुभारम्भमै नेपाली फिल्मको निर्माण पक्षलाई ५० प्रतिशत शेयर दिने घोषणा गरेका थिए ।

‘मैले निर्माताका रूपमा उठाउँदै आएको समस्यालाई आफू प्रदर्शक भएपछि सम्बोधन गरेको हो । यसले अन्य प्रदर्शकलाई पनि प्रेरणा दिओस् भन्ने थियो । पछिल्लो सहमतिले निर्माताको धेरै अगाडिको माग सम्बोधन गरेको छ । अब यस क्षेत्रमा देखिएको समस्यामा दुई संस्था एकजुट भएर अगाडि बढ्ने छौँ’, निर्माता गिरीले भने ।

पछिल्लो समय देखिएको समस्या विशेषतः नेपालमा मल्टिप्लेक्स फिल्म भवन सुरु भएपछि बढेको हो । आधुनिक भनिएको फिल्म भवन सञ्चालन खर्चिलो हुने भएकाले निर्माताले कम शेयर पाउन थाले । त्यस अगाडि फिल्म भवनले बराबर मात्र नभई बढी शेयर दिनुका साथै अग्रिम भुक्तानीसमेत गर्थे ।

डिजिटल प्रविधि भित्रिनु अगाडि सेलुलोइड प्रविधिमा चलचित्र निर्माण तथा निर्देशक गरेका ज्ञानेन्द्र देउजाले प्रदर्शकसँग पछिल्लो समय देखिने गरेको समस्या उक्त समयमा नरहेको बताए ।

‘हामीले छायाङ्कन गर्दा नै कलाकार र गीतसङ्गीतका आधारमा अग्रीम भुक्तानी दिएर प्रदर्शनको सुनिश्चितता गर्नुहुन्थ्यो । हामीले आफ्नो मागअनुसार शेयर पाउने गरेका थियौँ । मैले गत वर्ष डिजिटल प्रविधिमा चलचित्र निर्माण गरेर प्रदर्शन गर्दा धेरै नयाँ अनुभव पाएँ’, निर्देशक देउजाले भने, ‘हामीले मागभन्दा बढी पूर्ति गरेकाले पनि यस्तो भएको हुनसक्छ किनकी अहिले निर्माताले फिल्म निर्माण गर्ने मात्र नभई प्रदर्शन कसरी गर्ने पनि बुझ्नु जरुरी छ ।’

ढिलै भए पनि निर्माता र प्रदर्शकको सङ्घमार्फत गरिएको निर्णयको फिल्मकर्मीले प्रशंसा गरेका छन् । आउँदो समयमा देखिने अन्य समस्यालाई दुवै सङ्घ मिलेर समाधान गर्ने सहमति जुटेको छ । यो सहमति जति धेरै समय लागू हुनेछ, त्यति नै दुई संस्थाबीचको सामिप्यता बढ्नेछ । अन्य समस्या नदेखिएका होइनन् तर छलफलले सकारात्मकता थपेको छ । अर्थात् एकजुट भएर अगाडि बढ्न पछिल्लो संवादले मद्दत गरिरहेको छ । फिल्मसम्बन्धी कानुन बन्ने अन्तिम प्रक्रियामा रहेकाले पनि यस क्षेत्रले आगामी समयमा नयाँ गन्तव्य पाउने विश्वास फिल्मकर्मीको छ ।