नयाँ स्वरुपमा आउँदै सिन्दुर

काठमाडौं । कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल सिन्दुर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा सिन्दुरको निर्माण घोषणा गरेकी हुन् ।

करिब १७ बर्ष अगाडी निर्माण भएको सुपरहिट टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्यनजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहिर भएकाले पनि अहिले आफुले नयाँ कलाकारलाई लिएर काम गरेको उनको भनाई छ ।

यो टेलिसिरियलको शुभमुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्धाज उपस्थित थिए । यो सिरियलमा विनय राज पौडेलको लेखन तथा निर्देशन रहनेछ । उनले १२ बर्ष अघि सिन्दुर नामक फिल्मबाट सहायक निर्देशक भएर फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । करिब १२ वर्षपछि यही नामको सुपरहिट सिरियल पुन निर्माणमा निर्देशकको जिम्मेवारी बहन गर्ने जिम्मा दिएकोमा प्रज्ञा जोशी प्रति आभारी रहेको बताए ।

प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेनद्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायतका कलाकारको अभिनय रहनेछ । यो सिरियलमा मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन, सम्राट थापाको संगीत रहनेछ ।