प्रिमियरमा चित्राको तारिफ

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘चित्रा’को सोमबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ । प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, दीपाश्री निरौला, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे, कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा ‘गैंडा’लगायत उपस्थित थिए ।

फिल्म हेरेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोष अधिकारीको काम डेब्यू अभिनेताको जस्तो नभई काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए ।

‘हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि गरिराखेको देखिन्छ,’, भुवनले भने । उनले प्रमोद अग्रहरीको पनि तारिफ गरे । केसीले फिल्म रमाइलो भएको बताउँदै आफू इमोशनल बनेको बताए ।

अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित बनिन् । आफूलाई फिल्मको कथा मनपरेको उनको प्रतिक्रिया थियो ।

निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन् । उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन् ।

निर्देशक नरेश पौड्यालले डेब्यू अभिनेता अधिकारीले फिल्ममा ‘इमोशन’मा विविधता दिएको भन्दै तारिफ गरे । उनले अन्य कलाकारको काम राम्रो रहेको बताउँदै प्रमोद र सिम्रन खड्काको अभिनय निकै राम्रो लागेको जनाए ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा सन्तोष अधिकारी, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।

फिल्को नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।