गोर्खा वारियरको कोरियन भाषामा धमाधम डबिङ

काठमाडौं । ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस (बाफ्टा)का लागि छनोट भएको नेपाली फिल्म ‘गोर्खा वारियर’ को यतिबेला कोरियन भाषामा धमाधम डबिङ भइरहेको छ । यो फिल्म आगामी फागुन ११ गते नेपालमा रिलिज हुँदैछ ।

केही समयअघि बेलायतमा बेलायतमा रेड कार्पेट प्रिमियर गरी औपचारिक रुपमा विश्वव्यापी प्रदर्शनको सुरुवात गरेको फिल्ममा मिलन चाम्सको निर्देशन छ । निर्देशक चाम्सका अनुसार भारत र दक्षिण कोरियाका लागि फिल्म बिक्री भइसकेको छ । उनले अमेरिकाको एक कम्पनीले फिल्मलाई भारत र कोरियापछि विश्वव्यापी रुपमा रिलिज गर्ने तयारीमा रहेको बताए ।

दोश्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरुको सघर्षको कथा फिल्ममा छ । यो फिल्ममार्फत रितेश चाम्सले डेब्यू गरेका छन् । फिल्ममा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

फिल्ममा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो फिल्मको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।