सिडिसी सिनेमाजमा ढोरपाटन

काठमाडौं । युरोप र एसियाका प्रख्यात अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको वृत्तचित्र ‘ढोरपाटन(नो विन्टर होलिडेज)’ यही शुक्रबारबाट काठमाडौंको सुन्धारास्थित सिडिसी सिनेमाजमा रिलिज हुने भएको छ ।

वृत्तचित्र साल्पा फिल्म्सले निर्माण गरेको हो । २०७५ फागुनदेखि निर्माण शुरु भएको वृत्तचित्रको विश्व प्रिमियर गत असारमा बेलायतको सेफिल्ड डकफेष्टमा गरिएको थियो । त्यसपश्चात यसको एसियन प्रिमियर भदौमा दक्षिण कोरियाको डिएमजी डक्समा गरिएको थियो ।

तिहारअघि भारतको हिमाञ्चल प्रदेशको धरमशालामा आयोजित धरमशाला अन्तराष्ट्रिय चलचित्र महोत्सवमा यो वृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस्तै कलकत्ताको कोलकाता अन्तराष्ट्रिय चलचित्र महोत्सवमा यसले प्रशंसा पाएको थियो ।

वृत्तचित्र हालै काजाक्सतानमा आयोजित प्रथम अलटरनेटिभा फिल्म अवाड्र्समा ‘सांस्कृतिक महत्च बोकेको’ भन्दै ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो । नेपालमा भएका नेपाल अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा यसले ‘सर्वोत्कृष्ट वृत्तचित्र’को उपाधि जितेको थियो ।

वृत्तचित्रका निर्माता तथा निर्देशक राजन कठेतले संसारभरि प्रदर्शन गराएर नेपाली थिएटरमा ल्याउन पाउँदा खुशी लागेको बताए ।