आहा ! क्या राम्रोमा महाजात्रा ठुम्का

काठमाडौँ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो’ माघेसङ्क्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको छ । खुल्लामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर छ ।

गीतमा फिल्मका कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् । अरुण र आश्माको अभिनय यो गीतमा मात्र छ ।

एक सय भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । निर्देशक प्रदीप भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए ।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलामा ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।