नमेटिने घाउमा प्रधानमन्त्री बन्दै केपी शर्मा ओली

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै मुहूर्त गरियो ।

मुहुर्तमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, एमाले सांसद सुनिता बराल, कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत, कमेडियन हिमेश पन्त उपस्थित रहेका थिए ।

मुहुर्तको पहिलो दृश्यको निर्देशन ओलीले गरे। ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरु उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए ।

अभिनेता रमित ढुंगानाले बायोपिक फिल्मका रुपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यसै फिल्मबाट उनले निर्देशनको यात्रा समेत सुरु गर्दै छन्।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको छ । फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरु छन्।

फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत रहेका छन् ।

‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् र निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिदै छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ– नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन।’

रमितले भने, ‘यो सबै पीडितहरुको बायोपिक हो । आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ ।’ गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।
फिल्मको मुहुर्त गरेसँगै काठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा छायांकन गर्ने तयारी गरिएको छ ।