बर्लिनका गोल्डेन बेयर विजेता निफमा प्रमुख निर्णायक

काठमाडौं । दुई दुई पटक ‘बर्लिन फिल्म फेस्टिभल’मा अवार्ड जित्ने चिनियाँ फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को ‘फिचर फिल्म’ प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव आगामी चैत १ देखि ५ सम्म काठमाडौंमा हुँदैछ ।

महोत्सव अध्यक्ष केपी पाठकले सिएले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशन सम्बन्धी मास्टरक्लास पनि दिने बताए । पाठकका अनुसार मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको फिल्म ‘सङ अफ तिब्बत’ देखाइनेछ ।

बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड ‘सिल्भर लाइन’ जितेको थियो । यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड ‘गोल्डेन बेयर’ जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।

बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्षसमेत रहेका सिए सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके सिए फेईकै विद्यार्थी हुन् ।

८० वर्षको उमेर पार गरेका उनी अहिले पनि नयाँ पुस्ताका फिल्मकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।

निफको यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।