पार्वती बनाउँदै लक्ष्मण

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ फिल्म ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर फिल्मको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा रहेको छ ।

फिल्म ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले ‘पार्वती’मा सामाजिक प्रेमकथालाई उठाउने बताए। फिल्मको टाइटल डिजाईनमा दुई युवतीको छायाँलाई देखाईएको छ। यो कथासँग मेल खाने र अर्थ पूर्ण रहेको सुवेदीले जनाए।

सामाजिक कथामा निर्माण हुने फिल्मको छायांकन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने फिल्मको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले लिएका छन्।

नेपाली र अंग्रेजी भाषामा बन्ने फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा भने खुलाइएको छैन। ‘गाउँले केटि मो’ स्लोगन दिईएको फिल्म ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ। फिल्मको गीत र निर्माण समेत सुवेदीकै रहनेछ।