लन्डन टु पेरिसको छायाङ्कन पुरा

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको फिल्मको काम प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको निर्देशक लामिछानेले जानकारी दिएका छन् ।

निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो । आफ्नो छायाङ्कन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ ।

‘एक वर्षपछि सम्पूर्ण छायाङ्कन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु । कहिलेकाहीँ फिल्म ढिला हुँदा फिल्म रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले फिल्म पूरा गर्न सक्यौं । यसमा म खुशी छुु’, निर्देशक लामिछानेले भने ।

फिल्मको पहिला खिचेको भागको डबिङ र कलर समेत भैसकेको छ भने मिक्सिङ तथा भिएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिएपछि हुनेछ । गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यही फिल्मबाट डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह छन् ।