अमेरिकामा निर्देशक पुरीद्वारा रोयल किचन उद्घाटन

काठमाडौं । नेपाली कलाकारहरुको नगरी मानिने अमेरिकाको बाल्टिमोरमा नेपाली र इन्डियन परिकार पाइने रोयल किचन नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेपाली युवाहरुले सञ्चालन गरेको सो रेष्टुरेन्टको हालै फिल्म निर्देशक नारायण पुरीले रिवन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा हाँस्य अभिनेता, गायक रतन सुवेदी,अभिनेत्री पूजा चन्दलगायतका कलाकार,स्थानीय ब्यबसायी तथा समाजसेवी उपस्थित थिए ।

अमेरिका निवासी उत्साही र अनुभवी युवाहरु सन्तोष घिमिरे, सरोज बस्नेत र सेफ कृष्ण सापकोटाले नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेको रेष्टुरेन्टमा दिनहँु नेपाली तथा विदेशीहरुको भीड लाग्ने गरेको छ ।

विशुद्ध नेपाली परिकारहरुका साथ आफ्नै मातृभूमिमा रहेको आभाष दिने प्रयास सञ्चालकहरुको छ । निर्देशक पुरीले युवाहरुले जहाँ रहे पनि नेपालीपन कायम राख्दै सेवा दिइरहेकोमा खुशी ब्यक्त गरे ।

उनले रेष्टुरेन्टको सर्भिस निकै अब्बल हुनुका साथै परिकार पनि स्वादिष्ट रहेको जानकारी दिँदै उनीहरुलाई अझ बढी सफलताको शुभकामना व्यक्त गरेका छन् ।