काठमाडौं । लिम्बू भाषा संस्कार, संस्कृति सम्वद्र्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘सुगुप’ आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते बिहीबार किराँत याक्थुङ चुम्लुङ उपत्यका समिति काठमाडौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सह–आयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन हुने भएको छ ।
लिम्बू जातिमा प्रसव पीडा अथवा सुत्केरी व्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ ।
सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ । सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको के कस्तो भूमिका रहन्छ भन्ने देखाउन खोजिएको निर्देशक लोकेन साँवा लिम्बुले बताए ।
फिल्ममा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम इम्बुङ लिम्बू(फूलन्देको बाउ), बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, इन्द्रापन्धाक, युवराज इश्बो, थानाहाङ तिगेला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङको शब्द, अशोक लोहरुङ राईको संगीत, राजेशपायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुको स्वर, देवेन्द्र खापुङ(सुरकेली)को पटकथा, युवराज राई(वीरबहादुर)को छायाङ्कन, विपिन्न मल्लको सम्पादन, रेनिस फागोको कलर छ ।
रविनकुमार नाल्बो लिम्बु प्रस्तुतकर्ता तथा मुख्य निर्माता रहेको फिल्ममा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो निर्माता, एलपी साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो सह–निर्माता, कमल राईको नृत्य, किशोर सम्बाहाङ्फेको द्वन्द्व, निश्चल कुलुङ राईको कला, विजय लामाको मेकअप छ ।
भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको फिल्मको कथा, निर्माता र निर्देशक लोकेन साँबा लिम्बुको रहेको छ ।