हलमा पाँच पाण्डवको एक्लो रिलिज

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’ आजबाट प्रदर्शनमा आएको छ । हलमा आजबाट प्रदर्शनमा आएको यो एक्लो नेपाली फिल्म हो । निर्माण पक्षका अनुसार फिल्मले सन्तोषजनक शो पाएको छ ।

फिल्मका निर्देशक वसन्त निरौलाले बलिउड फिल्म ‘रामायण’ले हलमा वर्चस्व जमाइरहँदा आफ्नो फिल्मले पाएको शो सन्तोषजनक रहेको बताए । ‘हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ । तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरुले शो थप्दै जानेमा हामी पूर्ण रुपमा ढुक्क छौँ ।’ उनले भने । उनले फिल्मको आइडिया र ट्रिटमेन्टलाई दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए ।

फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता काली रानी श्रेष्ठ हुन् ।