काठमाडौं । डिजिटल माध्यममा ‘सिंगल ह्यान्डेड्ली’ नामले परिचित भारतीय कथावाचक तथा लेखक लक्ष महेश्वरी पहिलोपटक नेपाल आउने भएका छन् । महेश्वरीले आगामी नोभेम्बर २९ मा काठमाडौंमा कथावाचन गर्दैछन् । ‘खुशियाँ लेकर आया है– अ स्टोरीटेलिङ स्पेसल’ नाम दिइएको उक्त कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल एकेडेमी हलमा सुरु हुनेछ ।
महेश्वरी प्रेम, सम्बन्ध, संस्कृति र मानवीय संवेदनामा आधारित कथावाचनका लागि परिचित छन् । उनले नेपालमा रहँदा कथा, कविता, हास्य, संगीत र दर्शनलाई समेट्नेछन् ।
पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रमको रणनीतिक परामर्शदाता यश भारद्वाज हुन् । आयोजकका अनुसार कार्यक्रमको टिकट खल्तीबाट उपलब्ध हुनेछ । पिनाकल इन्टरटेनमेन्टले स्ट्यान्डअप कमेडी, संगीत तथा कथावाचनलगायतका विधामार्फत नेपाली दर्शकमाझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार प्रस्तुत गर्दै आएको छ ।







