रहमानको ९९ सङ्समा मनिषा कोइराला

मुम्बई(एजेन्सी) । ओस्कार एकेडेमी अवार्ड विजेता भारतीय संगीतकार एआर रहमानले डेब्यु निर्माण र लेखन गर्न लागेको फिल्म ‘९९ सङ्स’मा बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला अनुबन्धित भएकी छन् । विश्वेस कृष्णामूर्तिले निर्देशन गर्ने फिल्म आत्म खोजीको यात्रामा निस्किएको एक संघर्षशिल गायकको कथामा बन्नेछ ।

रहमानले हालै मात्र फेसबुकमा एक भिडियो पोष्ट गर्दै फिल्मबारे जानकारी दिएका हुन् । फिल्ममा मनिषासहित लिजा रेसहित नयाँ अनुहारहरु इहान भाट, इडिल्सी भर्गेसे र तेञ्जिल डाल्हाको अभिनय रहनेछ । फिल्ममा रञ्जित बेरोट र राहुल रामको पनि अभिनय हुनेछ ।

सन् २०१८ मा रिलिज हुने अपेक्षा गरिएको फिल्म निर्माणका लागि स्क्रिप्टको काम नै झण्डै चार वर्ष गरिएको थियो । फिल्म संगीतकार रहमानको बायोपिकमा बन्ने चर्चा चले पनि तामिल नाडुमा जन्मिएका रहमानले फिल्म आफ्नो बायोपिकमा नहुने बताए ।

फिल्म उद्योगमा २५ वर्ष पुरा गरेका रहमानले मणि रत्नमको तमिल फिल्म ‘रोजा’बाट फिल्मी संगीतको शुरुवात गरेका थिए । उनले फिल्म ‘स्लमडग मिलेनियर’बाट ओस्कार अवार्ड जितेपछि हलिउडमा पनि उनको ख्याती पुगेको थियो ।