ज्वाइँ साबमा जितु ज्वाइँ

काठमाडौं । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् ।

राजकुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माण पक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितुलाई फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।

हाँस्य कलाकारको रुपमा चिनिएका जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरु पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् । यो फिल्मलाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छ ।

यो फिल्ममा बसन्त निरौलाको निर्देशन रहनेछ । फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन् । यो फिल्ममा सबिन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

फिल्म आउँदो वर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।