‘द रेड सुटकेस भुईं मान्छेहरुको वर्तमान दस्तावेज’

काठमाडौं । जर्मनीबाट फिल्ममा विद्यावारिधी गरेका निर्देशक फिडेल देवकोटाको ‘डेब्यू’ फिल्म ‘द रेड सुटकेस’ यही चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । करिब डेढ दशकयता जर्मनीमै बस्दै आएका उनी नेपाल र जर्मनी आउजाउ गरिरहन्छन् । यही यात्राका क्रममा देखेका, सुनेका र कोरोना कालमा आफूले भोगेको कथालाई उनले फिल्ममा उतारेका छन् ।

सन् २०१९ मा विश्वव्यापी रुपमा कोरोना महामारी फैलँदा फिडेल जर्मनीमै थिए । त्यहाँ लामो समयसम्म कोठामा बस्नु पर्दा आफू त्यही कोठामा मरेको अवस्थामा शवको अवस्था के होला भन्ने चिन्ता उनमा आयो । त्यही चिन्ता र सोचले उनले फिल्मको कथा फुराएका थिए ।

‘द रेड सुटकेस भुईं मान्छेहरुको वर्तमान दस्तावेज हो । हाम्रा नेताहरु विदेशबाट कति रेमिट्यान्स भित्र्याउने भनेर विदेश गएका नेपाली युवाको टाउको गनेर बस्स्छन् । देशमा रोजगार नभई विदेश गएका ती युवाहरुको बाध्यताले नै फिल्मको कथा जन्माएको हो,’ उनी भन्छन्, ‘धेरै पटक विदेश यात्रा गर्दा आफ्नो नामसमेत लेख्न नजान्ने नेपालीहरु भेटें । उनीहरुको कथा सुन्दै जाँदा तीे कथा दृष्यमा उतार्नु पर्छ भन्ने लाग्यो ।’

सिन्धुली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रविण खतिवडालगायतको मुख्य भूमिका छ ।

गतवर्ष सेप्टेम्बरमा भएको ‘भेनिस फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भएको यो फिल्मले सोही फेस्टिभलमा दुई अवार्ड जितेको थियो । फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो ।

त्यस्तै जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा उनलाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको थियो ।