अप्रिल ११ बाट अमेरिकामा डिग्री माइला

काठमाडौं । रामबाबु गुरुङको निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ आगामी शुक्रबार अर्थात चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदै छ । यो फिल्म ११ अप्रिलबाट अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन हुँदैछ ।

फिल्मको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ । फिलमको ११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरुको बाक्लो बसोबास रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ ।

अप्रिल १२ बाट भने फिल्म अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० बढि सहर तथा १९ अप्रिलबाट अमेरिकाकै सान फ्रान्सिस्को २० बढि शहरका सिने लाउन्ज, रिचमण्ड सिनेमार्कमा प्रदर्शन हुनेछ । अनि अप्रिल २६ बाट डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ ।

फिल्म अप्रिल र मेको पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई देखाउने लक्ष्य रहेको डायस्पोरा वितरक सेभेज सिजले जनाएको छ । अमेरिकाका ४० बढि थिएटरमा दैनिक बक्सअफिस र टिकटसहित सिनेमा रिलिज गरिनेछ ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मसले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।