सुटिङअघि कार्यशालामा कार्साङ

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको टिम वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । कार्यशालामा फिल्मका प्रमुख अभिनेता दयाहाङ राईसहित अन्य कलाकार र प्राविधिक छन् ।

केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाँदैछ ।

सामाजिक कथावस्तु रहने फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सिर्जना र छिरिङले डेब्यु गर्दैछन् ।

सिर्जनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

फिल्ममा यम शेर्पाको डेब्यू निर्देशन रहनेछ । फिल्मममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, सेलो गायक एवं संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह–निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह–निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।