भदौ २८ मा शाम्बाला

काठमाडौँ । पहिलो निर्देशकीय फिल्म ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन भदौ २८ लाई तय गरिएको छ ।

विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको ‘शाम्बाला’ महोत्सवपछि नेपाल प्रदर्शनमा ल्याईएको निर्देशक भामले जानकारी दिए ।

‘घरेलु दर्शकमाझ आउँदा उत्साहित छु । पहिलो चलचित्र सीमित चलचित्र भवनमा मात्र प्रदर्शन भएको थियो, यो भने नेपालभर प्रदर्शन हुँदैछ । हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल हो जस्तो लाग्छ”, निर्देशक भामले भने ।

उनले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखे पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताए ।

उच्च हिमाली गाउँमा गर्भवती श्रीमतिले देवरका साथमा श्रीमानको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको फिल्मलाई निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर लेखेका हुन् । डोल्पामा दृश्याङ्कन गरिएको फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गरेका छन् ।

निर्देशक भामद्वारा निर्देशित लघु फिल्म ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उनको पहिलो निर्देशकीय फिल्म ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।