काठमाडौं । फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले फिल्मको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् ।
अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय छ । प्रधानमन्त्री ओलीले केही दिनमा आफुले अभिनय गरेको दृश्यको डबिङ गर्ने निर्देशक रमित ढुङ्गानाले जानकारी दिए ।
प्रदर्शनको तयारीमा रहेको यो फिल्म एसिड पीडितहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । फिल्ममा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।
फिल्ममा निरज कंडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।