एआई प्रविधिमा द भाइब्जको थाकिसकें

काठमाडौं । नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो गीत ‘थाकिसकें’को भिडियोमा एआई प्रविधि प्रयोग गरेको छ । एआईलाई दिइएको निर्देशनमा आधारित भिडियोमा एआई युवायुवतीको प्रेम र विछोडको दृश्यलाई देखाइएको छ।

एआई भिडियोमा इनडोर र आउटडोर तथा कफी सपदेखि गाउँ–शहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ। मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सप्mटवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ।

विवेक पोखरेलको शब्द, ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बाँसुरी रहेको गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ। सन् २००८ मा सार्वजनिक ब्यान्डको ‘द भाइब्ज जेनरेसन’मा एल्बममा समावेश गीत ब्यान्डले फेरि एक पटक एआई जेनरेसनलाई पस्किएको छ।

प्रविधिमामा सधैँ नयाँ एक्सप्लोर गर्न माहिर भाइब्जले सो समयमै थाकिसकेको म्युजिक भिडियो पहिलोपटक १० हजार डलर खर्च गरेर क्यालिफोर्नियाका विभिन्न स्थानमा छायांकन गरी सार्वजनिक गरेको थियो। त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डि कार्कीले निर्देशन तथा छायांकन गरेका थिए।

यो गीतले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जितेको थियो । ब्यान्डले ‘निर्मोही’, ‘तस्वीर तिम्रो’, ‘काठमाडौं सिटी’जस्ता गीत ल्याइसकको छ। ब्यान्डमा भोकलिस्ट प्रइन सिंह छन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेका छन्।