फूलपातीमा ज्वाई साब

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’ आगामी असोज २४ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बडा दशैंको अवसर असोज २४ गते फूलपातीको दिन फिल्म रिलिज गर्न लागेको हो । फिल्मको हाल धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । फिल्ममा उनको अपोजिटमा निती शाह छिन् । फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाह गरेर फूलपातीमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

यो फिल्म काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।