सुदूरपश्चिमको हन्टरमा अरुण

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार नायकबाहेक काष्ट एन्ट क्रु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो ।

फिल्ममा जीवन सिंहको डेब्यू निर्देशन रहनेछ । फिल्म को मुख्य नायकमा अरुण क्षेत्री अनुबन्धित भएका छन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत फिल्ममा काम गरिसकेका छन् ।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।

फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताए । ‘चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,’ उनले भने, ‘रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ ।’

फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ । फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ ।