सुशिलको आउट लः दफा २१९ पोष्टपोन्ड

काठमाडौं । असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउट लः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।

निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ ।

फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

फिल्ममा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।
फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।