टिजरमा राजागञ्जः पूजा, सर

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्जः पूजा, सर’को टिजर सार्वजनिक भएको छ । फिल्मको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगराती मुख्य भूमिका छिन् ।

टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन् । फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकिय फिचर फिल्म हो । भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको फिल्मको प्रिमियरअघि नै विभिन्न देशमा फिल्मको वितरण अधिकार पनि बिक्री भैसकेको निर्माण टिमले जानकारी दिएको छ । विभिन्न अर्न्तराष्ट्रिय महोत्सव र हल रिलिज अघि नै फिल्मको विभिन्न देशको राइट बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरेका छन् ।

फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले फिल्मको राइट किनेको छ । एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित फिल्म ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका फिल्म वितरण गरेको छ । फिल्मको स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन प्रदर्शन अधिकार किनेको छ ।

निर्देशक रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । अर्को फिल्म ‘ह्वाइट सन्’ सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर फिल्म महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो । उनको छोटो फिल्म ‘फोर नाइट्स’ सन् २०२२ मा बर्लिनेल सट्र्समा प्रिमियर भएको थियो ।

‘राजागंजः पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ । सोही दिन निर्देशक रौनियारको जन्मदिन समेत हो । भेनिस प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका केही दिनमा कलाकार इटाली जाँदैछन् ।

यो फिल्मले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ । यो फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।