दिक्छेन र मार्जेनलाई उपाधि

काठमाडौ । तामाङ समुदायका बालबालिकाहरुको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन् । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन् ।

प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए ।

प्रतियोगिताका सहभागीले करिब १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी गुरुङबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको फिनालेमा अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक थिए ।

फिनालेमा पूर्व मन्त्री परशुराम तामाङ प्रमुख अतिथि र मिलन मोक्तान तथा पञ्चालाल घिसिङ विशेष अतिथि थिए । कार्यक्रममा तामाङ समुदाय सँगै राष्ट्रिय आयामका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

युथ क्रिएसनका प्रमुख रवी लामा तामाङले बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको बताए ।

बालबालिकाले प्रशिक्षणका क्रममा बौद्धमार्गीको पवित्र धार्मिक स्थल स्वयम्भूमा निःशुल्क पानी वितरण गरेका थिए भने स्वयम्भूको अवलोकन गरी तामाङ कूताब धिममा तामाङ परिकार खानपिन र गायक तथा तामाङ डाजाङका अध्यक्ष फुलकुमार ब‍ोम्जनबाट तामाङ भाषा लिपी रिमठिमको बारेमा जानकारी लिएका थिए ।

सहभागीहरुलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव तथा ओख्रेनी मावि गोकर्णेश्वर नगरपालिका १–सुन्दरीजल, काठमाडौकी शिक्षिका रुवी लामाले तामाङ भाषाका वर्णमाला किताब उपहार स्वरूप प्रदान गरेकी थिइन् । उनले सहभागीहरुलाई तामाङ मातृभाषाको परिचय, महत्व , संरक्षण र सम्बद्र्धनको विषयमा जानकारी दिएकी थिइन् ।