सुदर्शन भन्छन्–रावण आफैंमा नेगेटिभ होइन

काठमाडौं । निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ । यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद २’ जस्ता फरक स्वादका फिल्मको निर्देशकीय जिम्मेवारी पनि लिए ।

यिनै सुदर्शन यही शुक्रबारबाट फिल्म ‘रावायण’ लिएर दर्शकमाझ आउँदैछन् । फिल्म ‘धन्दा’मा थ्रिलर देखाएका सुदर्शनले ‘रावायण’मा एक्सन बेस्ड प्रेमकथा प्रस्तुत गरेका छन् । ‘म प्रेमकथाकै फिल्ममा भुलिरहेको थिएँ । जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन भइरहेको छ, त्यस्तो परिवर्तन म आफ्नो कथामा देखाउन चाहन्थें । नेपालमा प्रेमकथा र कमेडी फिल्म चलेको पनि धेरै समय भइसक्यो । नेपाली दर्शकले फरक स्वाद पाउनुपर्छ भन्ने लागेर अहिले एक्सन बेस्ड लभस्टोरी फिल्म गरेको हुँ’, उनी भन्छन् ।

सुदर्शन फिल्म ‘रावायण’ बन्नुमा फरक कारण दिन्छन् । ‘हामीले रामायणमा रामको कथा मात्र पढ्यौं, हेर्यौ र सुन्यौ । त्यो भित्र रावणको पनि त कथा थियो होला नि । जुन कुरामा हामीले चासो दिएनौं । यो फिल्मको धार्मिक कुरासँग सरोकार छैन । अहिलेको समयमा रावणजस्तो मान्छेको कथा र प्रेम पनि छ भन्ने एंगलबाट फिल्म बनाउन खोजेका हौं । चलिरहेको फिल्मको सिद्धान्त भन्दा फरक सिद्धान्तबाट हामीले यसको दृश्यको क्राफ्टिङलाई नै परिवर्तन गरेका छौं’, सुदर्शन दाबी गर्छन् ।

सुदर्शन फिल्म ‘रावायण’ हेरेपछि रावणप्रति दर्शकको हेर्ने दृष्टिकोणमा परिवर्तन हुने दाबी गर्छन् । ‘रावणबाट यो फिल्म प्रभावित छ । रावण भनेको पुरुषार्थी, शक्तिशाली, ज्ञानी, वैज्ञानिक र सबै चिजबाट भरिपूर्ण व्यक्ति हो । तर रावणले सीतालाई हरण गर्नु नै उसको गल्ती थियो । नत्र त रावणलाई सबैले मानेकै हो । रावण आफैंमा नेगेटिभ होइन । त्यसकारण उसलाई नेगेटिभ नभनौं’, सुदर्शन भन्छन् ।

फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि खास गरी नायक पल शाहको एक्सन पाटोमा प्रश्न नउठेको पनि होइन । यो कुरालाई बुझेका र सुनेका सुदर्शन यसको जवाफ अलिक फरक किसिमले दिन्छन् । ‘एक्सन गर्न २४ इञ्चको आम्र्स नै हुनुपर्छ भन्ने छैन । हामी सामान्य मान्छे हौं, यदि हामीमाथि कसैले अन्याय, अत्याचार गर्यो भने हामी एक्सनमा आउँछौं । ‘रावायण’ साधारण, लेभर मेनको कथा हो । यस्ताले पनि आफ्नो लागि कसरी लड्न सक्छ, परिस्थिति अनसार कसरी अगाडि बढ्नुपर्छ, कसरी आइलाग्नेमाथि जाइलाग्नुपर्छ भन्ने एउटा साधारण मान्छेको कथा हो’, सुदर्शन खुल्छन् ।

सुदर्शन नायक पल शाहलाई नचाउनकै लागि ‘रावायण’मा नलिएको बताउँछन् । ‘तीन वर्षको अध्ययनमा पल शाहलाई नचाउने भए म पल शाहलाई लिन्थिन होला । मैले पललाई फिल्मको प्रस्ताव गर्दा ऊ सकारात्मक थियो । टिजर र ट्रेलरमा पलको काम देखेर राम्रो र नराम्रो दुवै प्रतिक्रिया सुनें । के मान्छे कुट्नलाई ठूलै ज्यानको मान्छे चाहिने हो ? उसो भए सानो जिउ भएको मान्छेले बच्चै जन्माउदैन त ? । त्यसका लागि इच्छा शक्ति र हिम्मत ठूलो कुरा हो । मान्छे ठूलो ज्यान भएर मात्र पनि हुँदैन, हिम्मत चाहिन्छ, त्यो हिम्मत मैले पलमा देखें’, सुदर्शन भन्छन् ।

फिल्म ‘रावायण’मा सिक्वेलको सम्भावना धेरै रहेको सुदर्शनको बुझाई छ । ‘रावायण’मा सिक्वेलको सम्भावना धेरै छ । अहिले घोषणा गर्न मिल्दैन । तर फिल्म हेरिरहँदा दर्शकले त्यो महशुस गर्छन्’, उनी भन्छन् ।