पूर्णबहादुरको सारङ्गीको काँधेकुरी

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत एक बाबुले आफ्नो छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग फिल्मका मुख्य पात्र विजय बरालको अनुहारमा देख्न सकिन्छ ।

गीतमा विजयलाई घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेको देखाइएको छ । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ ।

बाबुबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ ।

शिक्षाबिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ । भिडियोमा विजयसँगै कलाकार प्रकाश सपूतको अभिनय छ । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता छन् । फिल्म नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।