काठमाण्डु शहरमा काठमाडौंको माया

काठमाडौं । नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा काठमाडौं सहरलाई समर्पित गरिएको गीतमा काठमाडौंको जीवन्त संस्कृति र समृद्ध इतिहासको वर्णन गरिएको छ ।

व्याण्डको एलबम ‘जवानीको जोश’मा समेटिएको गीत ‘काठमाण्डु शहर’ले द्वन्दकालको समयमा काठमाडौं सहरमा हुर्किदै गरेको एक युवकको अनुभवहरुलाई समेटिएको छ । व्यंग्यात्मक शब्दहरु र आकर्षक धुनसँग साँचो मायाका साथ व्यंग्य मिसाइएका गीतले काठमाडौंको लागि एक प्रेम पत्र समेटेको छ ।

ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको गीत साउन्ड फ्युजन स्टुडियोमा राहिताज गुरुङले रिमास्टरिङ गरेका हुन् । व्याण्डका अनुसार यो गीत सबै प्लेटफर्ममा उपलब्ध छ ।

गीतका गायक तथा गीतकार स्टिभ देवानले काठमाडौं आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको बताए ।

म्युजिक भिडियो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार स्क्वायरमा छायांकन गरिएको हो ।
व्याण्डका व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई) नेटवर्कका विकेश कायस्थले गीतले काठमाडौंको सुन्दरता र महत्वलाई जोड दिँदै गीतमार्फत सांस्कृतिक पहिचानको पनि प्रतिनिधित्व गराएको बताए ।

व्याण्डका बेसिस्ट विशाल हाङ राईले गीतले सहर प्रतिको माया र सहरका समस्याहरु प्रति चिन्ता गरेको कुरालाई पनि प्रस्तुत गर्ने जनाए । ड्रमर दिपसन केसीले दर्शकलाई ‘काठमाण्डु शहर’को दृश्य र श्रवण परिदृश्य अन्वेषण गर्न गर्दै गर्दा उनीहरुले व्याण्डको संगीत र जीवनलाई आकार दिने सहरको लागि गहिरो कदर र सराहनाको भावना जगाएको उल्लेख गरे ।