थाइल्यान्ड, सिंगापुर र मलेसियामा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड

काठमाडौं । क्वालिटी फिल्मस्को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।

गत वर्षबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्ड बिदेशमा आयोजना गर्न सुरु गरिएको हो । यो अवार्ड गतवर्ष मलेशियामा आयोजना गरिएको थियो । यसपटक यो अवार्ड थाईल्यान्ड, सिंगापुर र मलेशियामा आयोजना गरिने पनि अध्यक्ष उमेश गुरुङले जनाएका छन् । जसमा थाईल्यान्डमा अवार्ड समारोह र मलेशियामा साँगीतिक कार्यक्रम गरिने भएको छ । अवार्डमा सहभागी हुने कलाकारहरुले काठमाडौंबाट थाईल्यान्ड पुगेर अवार्ड ग्रहण गर्नेछन् । त्यसपछि थाईल्याण्डको घुमघामपछि सिँगापुरमा एक दिन बसेर मलेशिया जाने छन् । मलेशियामा साँगीतिक कार्यक्रमको प्रस्तुतिपछि घुमघाम गरेर नेपाल फर्कने आयोजक गुरुङले जानकारी गराएका छन् ।

सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । बिगत झै यसपटक पनि यो अवार्डलाई प्रतिस्पर्धामुलक रुपमा आयोजना गरिने भएको छ । अवार्डमा प्राप्त भएका सृजनालाई मनोनयन सार्वजनिक गरेर सो मनोनयनबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् ।

काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ । अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि अध्यक्ष गुरुङले जानकारी गराए । जसमा २०८० साउनबाट २०८१ भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।