खुस्माको सुखद ओपनिङ

काठमाडौं । संविधान दिवसको अवसर पारेर आज बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । फिल्मले हाउसफूल सुरुवात गरेपछि विहानैबाट फिल्मका प्रमुख कलाकार कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् ।

वितरक गोविन्द शाहीका अनुसार फिल्मको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यपारको सुरुवात गरेको थियो । वितरक शाहीले दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै शोहरु हाउसफूल भएको बताए । फिल्मले राम्रो सुरुवात गरेसँगै केही हलले साँझ र रातिका शो समेत बृद्धि गरेको वितरक शाहीको दाबी छ ।

निर्माता तथा निर्देशक अशोक थापा मगरले फिल्मले काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा बिहानबाटै राम्रो ओपनिङ गरेको बताए ।

भोली शुक्रबारका लागि देशभरका मल्टीप्लेक्सदेखि सिगंल स्क्रिनसम्मले फिल्मको शो थपेका छन् । बिहीबार करिब दुई सय शो पाएको फिल्मले शुक्रबारका लागि तीन सय आसपासमा शो पाउने देखिएको वितरक गोविन्द शाही बताए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । फिल्मको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाएको छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।