बेहुली फ्रम मेघौली ट्रेलरः स्वस्तिमालाई बेहुला भेट्टाउनै मुस्किल

काठमाडौं । यही असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलरका अधिकांश दृश्य फिल्मकी प्रमुख पात्र नायिका स्वस्तिमा खड्कालाई बेहुला खोज्नमै खर्चिएको छ ।

छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भन्ने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यंग्य गरेको छ ।

भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि नायिका स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ । परिवारले खोजेका कुनैपनि केटा मन नपरेपनि फिल्मकी मुख्य पात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन्, तर उसको अरुसँग प्रेम बसेको छ । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने चित्रण गरिएको छ । ट्रेलरमा संवादले दर्शकको मन जित्ने देखिन्छ ।

फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई फिल्म निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । फिल्म एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।