मिस एण्ड मिसेस युनिभर्सलले देखाए प्रतिभा

काठमाडौँ । मिस एण्ड मिसेस युनिभर्सल २०२४को ट्यालेन्ट राउण्ड सम्पन भएको छ । यो सँगै ग्राण्ड फिनाले यहि असोज १२ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा हुने बताइएको छ । प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए ।

स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा हुँदै आएको मिस एण्ड मिसेसको यो तेस्रो सिजन हो । तेस्रो सिजनसम्म आइपुग्दा आयोजक कम्पनीले प्रतियोगीहरुलाई थप क्षमतावान बनाउँदै ल्याएको छ । आयोजक संस्थाकी अध्यक्ष नितु श्रेष्ठका अनुसार शोको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले बिभिन्न जातिको कला संस्कृति भेषभूषा, रिति रिवाज झल्कने प्रस्तती दिएका थिए । विवाहित तथा अविवाहित महिलाहरुले नृत्य, नाटकसँगै आआफ्नो प्रतिभा देखाएका थिए ।

अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘हामीले महिला दिदीबहिनीहरुको क्षमतालाई बृद्ध गर्ने उद्देश्यले यो शो गर्दै आएका छौं । तीन सिजनसम्म आइपुग्दा हामीमा पनि अनुभव बढ्दै गएको छ । महिलाहरु घरको काम मात्रै होइन, बाहिरको काममा पनि अगाडी बढ्नुपर्छ र क्षमतालाई बृद्धि गर्नुपर्छ भन्ने लाग्छ ।’

उक्त प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैंया सहित, बिभिन्न ब्राण्डको तर्फबाट गिफ्ट प्राप्त गर्नेछन् । फिनालेमा जम्मा १२ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा मिसको तर्फबाट ६ जना र मिसेसको तर्फबाट ६ जनाले प्रतिस्पर्धा गर्नेछन् । शोको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन् ।