विश्नोई ग्याङद्वारा सलमानसँग ५ करोड रुपैंयाँ माग

मुम्बई(एजेन्सी) । बाबा सिद्दिकीको हत्या पछि बलिउड अभिनेता सलमान खान लगातार विश्नोई ग्याङको निशानामा परिरहेका छन् । अभिनेतालाई लगातार धम्की आइरहेको छ । मुम्बई ट्राफिक प्रहरीले ह्वाट्सएप नम्बरमा एक धम्कीपूर्ण सन्देश फेला पारेको छ, जहाँ अभिनेता सलमान खानसँग ५ करोड रुपैंया माग गरिएको छ ।

सन्देशमा लरेन्स विश्नोईसँग दुश्मनी अन्त्य गर्न चाहने हो भने उसलाई ५ करोड रुपैंयाँ दिन भनिएको छ । उसले सन्देशमा सलमानले आफूले मागे जति पैसा नदिए उनको अवस्था पनि बाबा सिद्दिकीकै जस्तो बनाइदिने धम्की दिएको छ । यो धम्की पछि मुम्बई प्रहरीले तिब्र रुपमा अनुसन्धान अगाडि बढाएको छ ।

यता सलमानको परिवार उनलाई निरन्तर आइरहेको धम्कीका कारण त्रसित बनेको छ । सिद्दिकीको हत्या पछि सलमानको परिवारले कोही पनि मान्छेलाई उनलाई भेट्न दिएको छैन ।