पूर्ण बहादुरको सारङ्गीको रैया चाँदीको

काठमाडौं । यही कार्तिक १५ गते लक्ष्मीपुजाको दिन रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक भएको छ । दोहोरी ब्याटल शैलीको ‘रैया चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द तथा गायक अविरल स्वयंको संगीत छ ।

गीतको भिडियोमा फिल्मका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइलीको अभिनय छ । सर्तसहितको रोधी फ्लेभरको गीतमा बाटुली (अञ्जना) हारे पूर्णे (विजय)को श्रीमती बन्ने अनि पूर्णे हारे बाटुलीको घरमा हली बस्नुपर्ने सर्त राखिएको छ । गीतमा घोचपेच र प्रेमका कुरा समेटिएको छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।