विजय बराल भन्छन्–गन्धर्वको जीवन कष्टकर नै रहेछ

काठमाडौं । आफूले अभिनय गरेका अधिकांश फिल्ममा सहायक भूमिकामा स्थापित कलाकार विजय बराल यही कार्तिक १५ गते लक्ष्मीपुजाको दिनबाट प्रदर्शनमा आउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गन्धर्वको भूमिकामा देखिँदैछन् । फिल्मको टिजर र ट्रेलरमा उनलाई गाउँ गाउँ गएर गीत गाउँदै पैसा संकलन गर्ने गन्धर्वको भूमिकामा देखाइएको छ । फिल्ममा उनी तन्नेरी र बुढ्यौली अवस्थामा देखिन्छन् ।

विजयका अनुसार यो फिल्मको स्क्रिप्ट सुनेपछि उनी दुई हप्ता होल्ड भएछन् । ‘यो फिल्ममा मैले प्रमुख भूमिका निभाउनुपर्ने थियो । अहिलेसम्म सहायक चरित्रमा अभिनय गरिरहेको म प्रमुख भूमिका निभाउँदा कस्तो हुन्छ भन्ने रिस्क र फाइदा दुवै मलाई थाहा थियो । त्यही भएर दुई हप्ता होल्ड गरेर फिल्मको चरित्रका लागि तयार भएँ’, उनी भन्छन् ।

उनले चरित्र निर्माणका लागि सारङ्गी पनि सिकेका थिए । ‘१० दिन शरीरको बस्ने पोजिसन, सारङ्गी बोक्ने शैली र हातको चाल सिकें । सारङ्गी सिक्दा र गन्धर्वको चरित्र बाँच्दा ‘गन्धर्वको जीवन कष्टकर नै रहेछ’ भन्ने बुझें’, उनले भने ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।