काठमाडौं । फिल्म ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । फिल्मको विषय, संकृतिको उठान र टिजरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश शेर्पा बताउँछन् ।
‘विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइरहनु भएको छ । कमै मात्रै फिल्ममा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,’ निर्देशक शेर्पाले भने, ‘आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।’
सामाजिक सञ्जाल र शुभेच्छुकबाट आएको प्रतिक्रियाले पोष्ट प्रोडक्सनमा रहेको फिल्ममा मेहनत गर्ने हौसला मिलेको उनले बताए । कलाकारको क्यारेक्टर लुक्स र अभिनयको पनि तारिफ गरेको शेर्पाले बताए ।
केही दिनअघि सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको कल्चर देख्न सकिन्छ । जसमा धामी बस्ने दयाहाङ राई र उनको गरिबीदेखि जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ ।
साथै, ऋण, सापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।
यम शेर्पाको डेव्यु निर्देशन रहेको ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्ममा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । फिल्मको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् । फिल्मको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।
‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।