काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कर्मा’को मुहुर्तसँगै छायांकन सुरु भएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन फिल्मको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् ।
४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने फिल्मको मुख्य भूमिकामा कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव छन् ।
फिल्ममा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् ।
एक्सन ड्रामा जनरामा निर्माण हुने यस फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो फिल्ममा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।
निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’ र ‘लभ डायरिज’ को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।