कार्साङको सात भन्ज्याङमा दयाहाङ र सिर्जना

काठमाडौं । फिल्म ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । फिल्मको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा डीपी खनालको शब्द, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुन मगरको स्वर तथा रिकेश गुरुङले एरेन्ज छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय छ ।

गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ । पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । जसले गीतलाई राम्रो बनाउन सहयोग गरेको छ । बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ ।

पुस २६ गते रिलिज हुने फिल्म यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।

फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु फिल्म हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।