काठमाडौँ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा कवि अवतारमा देखिइरहने अभिनेता राजबल्लभ कोइरालाले अन्ततः कविता संग्रह निकालेका छन् । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए ।
‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले विमोचन समारोहमा बोल्दै भने । उनले आफैँले लेखेका कविता सामाजिक सञ्जालमा अरुले राखेर लाइक गरिरहनु परेको अवस्था चिर्नका लागि पनि संग्रह निकालेको बताए ।
पुस्तकको कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विमोचन गरेका थिए । यसअघि समारोहका निम्तालुलाई स्वागत गर्दै आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले राजबल्लभको कविता संग्रहले चलचित्र र साहित्यलाई जोड्ने सेतुको रुपमा जोड्ने विश्वास व्यक्त गरेका थिए ।
पाश्र्व संगीतसहित कविता वाचनको शृंखलासहित सम्पन्न कार्यक्रममा कवि विप्लव प्रतीकले अभिनेता कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरेका थिए । उनले संग्रहमा रहेका केही कविताको वाचन गर्दै कविता हतारमा नभई समय लिएर पढ्ने साहित्य भएको बताएका थिए ।
‘यो कवितामा १ सय ११ वटा कविता छन् । यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन्,’ उनले ठट्टा गर्दै अगाडि थपे, ‘ यो दुनियाँमा कवि नै यस्तो प्राणी होला जसलाई देश, समाज, मान्छे सबको चिन्ता छ । उनका कवितामा चिन्तासँगै शिल्प र दर्शनको बेजोग संगम भेट्न सकिन्छ ।’
निर्देशक दीपाश्री निरौलाले राजबल्लभ अभिनयमा मात्र नभएर कविको रुपमा पनि परिपक्व भएको प्रमाण कविता संग्रह रहेको बताउँदै चलचित्रमा निरन्तर देखिन सुझाव दिएकी थिइन् । कार्यक्रममा दिलभुषण पाठकले संग्रह भित्र समेटिएका केही कविता वाचन गर्दै कविताले समयको कथालाई दुरुस्त उतारेको टिप्पणी गरेका थिए । प्रकाशकको तर्फबाट बोल्दै अश्विनी कोइरालाले लामो मेहनतपछि संग्रह तयार भएको जनाउँदै राजले कविता संग्रहमार्फत् साहित्यिक वृत्तमा दमदार उपस्थिति जनाएका बताए ।
शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैँयाँ रहेको छ । विमोचन कार्यक्रममा एसएमटी ग्लोबलको पनि सहकार्य रहेको थियो ।