काठमाडौं । चलचित्र विकास बोर्डअन्र्तगत चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले पीडित फिल्मकर्मीहरुलाई जनही ४५ हजार रुपैंयाँको दरले राहत प्रदान गरेका हुन् । विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर फिल्मकर्मीहरूलाई मात्र सहयोग गर्दै आएको कोषले यस पटक प्राकृतिक प्रकोपबाट प्रभावित फिल्मकर्मीहरूलाई पनि सहयोग गर्ने निर्णय गरेको हो ।
कोषले नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ र फणिन्द्रबहादुर विकलाई राहत प्रदान गरेको हो ।
बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मकर्मीहरूको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताए । कोषकी अध्यक्ष बसुन्धरा भुसालले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।