काठमाडौं । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक फिल्मको २ मिनेट ८ सकेण्ड लामो टिजरमा फिल्मको कथावस्तुबारे प्रकाश पारिएको छ ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ।
फिल्मको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको अभिनय पत्रकार ऋषि धमालसँग अर्न्तवार्ता गरेसम्मका दृश्यले दर्शकको मन जित्ने देखिन्छ ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्ममा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल छन् ।
अमर महर्जनको छायांकन रहेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।