काठमाडौं । एक्सन फिल्म ‘कर्मा’मार्फत पहिलोपटक अभिनेता विपिन कार्की एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल छन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो ।
ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो फिल्म हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा फिल्म कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताएका छन् ।
दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’मा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । फिल्ममा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ ।
टिजरमा विपीनको एक्सन देखिए पनि मुकुनको एक्सन हेर्न भने बाँकी छ । जुन ट्रेलरमा देखिने निर्देशक चौधरीले बताएका छन् । विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको भनाइ छ ।
‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका फिल्मभन्दा फरक रहेको मुकुनले यसअघि नै बताइसकेका छन् ।
फिल्ममा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । फिल्म यही चैत २९ गते रिलिज हुँदैछ ।